म्याग्दी। म्याग्दी जिल्लामा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियान अन्तर्गत एक महिनाभित्र ११५ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र वन–जङ्गल क्षेत्रमा चोरी–सिकारी नियन्त्रणमा राख्न अभियान सञ्चालन गरिएको हो।
सबैभन्दा बढी रघुगङ्गा गाउँपालिकाबाट ४८ थान, अन्नपूर्ण गाउँपालिकाबाट १६, मालिका गाउँपालिकाबाट २०, मङ्गला गाउँपालिकाबाट १४, धवलागिरि गाउँपालिकाबाट ६ र बेनी नगरपालिका क्षेत्रबाट ११ थान इजाजतपत्रविहीन भरुवा बन्दुक बरामद भएको छ।
प्रहरीका अनुसार बरामद अधिकांश बन्दुक स्थानीय स्तरमै बनाइएका र चालु अवस्थामा थिए। ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र र सामुदायिक वन क्षेत्रमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवादमा भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकोले अभियान सञ्चालन गरिएको हो।
बरामद अवैध बन्दुक गाउँघर, जङ्गल, खोलाखोल्सा र खाली घरमा लुकाइ–छिपाइ राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। इजाजतपत्रविहीन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
जिल्ला प्रहरी कार्यालयले स्थानीयवासीसँग सहकार्य गर्दै गस्ती अभियान जारी राख्ने र अवैध हातहतियार नियन्त्रणमा निरन्तरता दिने जनाएको छ।रासस