स्विट्जरल्यान्ड । क्रान्स–मोन्टाना स्थित प्रसिद्ध स्की रिसोर्टको ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको आगलागीमा करिब ४० जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्।
घटनाअनुसार आगो बिहीबार बिहान करिब १ः३० बजे फैलियो। भीडभाडमा फसेका मानिसहरूले झ्याल फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए। इटालीका स्विट्जरल्यान्डस्थित राजदूतले मृतक सङ्ख्या ४७ पुगेको बताएका छन्, तर स्विस प्रहरीले अन्तिम पुष्टि गर्न बाँकी रहेको जनाएको छ।
स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई “देशले भोगेको अत्यन्तै दुःखद र गम्भीर त्रासदी” भनेका छन्। राष्ट्रपति कार्यालयले पाँच दिनसम्म राष्ट्रिय झण्डा अर्धझुकाइने घोषणा गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार आगलागी कुनै आक्रमणका कारण नभएको पुष्टि भएको छ। प्रारम्भिक साक्षीको भनाइ अनुसार शैम्पेन बोतलमा प्रयोग गरिएको स्पार्कलर छत नजिक पुगेपछि आगो सल्किएको हुनसक्छ।
घाइतेहरूलाई स्विट्जरल्यान्डका विभिन्न अस्पताल र छिमेकी देशका विशेष उपचार केन्द्रमा स्थानान्तरण गरिएको छ। घटनामा विदेशी नागरिकहरू पनि परेको आशङ्का गरिएको छ। पीडित र परिवारका लागि सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ भने धेरै परिवार अझै आफन्तको खोजीमा रहेका छन्।रासस







