जङ्गली हात्तीको आतंक, एकै रात झापाका तीन घर भत्किए

0 Shares

झापा । झापा जिल्लाका विभिन्न स्थानमा जङ्गली हात्तीको बथान गाउँ पस्दा एकै दिन तीनवटा घरमा ठूलो क्षति पुगेको छ । हात्तीले घर भत्काउनुका साथै अन्नबाली र भौतिक सम्पत्तिमा लाखौँ रुपैयाँ बराबरको नोक्सानी गरेको छ ।

कमल गाउँपालिका–३ बगाले टोलमा गणेश बस्नेतको टिनको छानो भएको घरमा रातको समयमा तीनवटा हात्ती पसेका थिए । हात्तीले मूलघर आंशिक रूपमा भत्काउनुका साथै भान्साघर पूर्ण रूपमा ध्वस्त बनाएको स्थानीयले बताएका छन् । घरभित्र राखिएको चार मन धान र चार मन मकैको पीठो हात्तीले खाइदिएको छ भने लत्ताकपडा, भाडावर्तन र फर्निचरसमेत नष्ट हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

यस्तै, भद्रपुर नगरपालिका–७ डाँफे चोकमा ऋषि भट्टराईको एकतले पक्की घरको भान्साघर भत्किँदा करिब २२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिर्तामोड नगरपालिका–८ किसनभिट्टामा पनि हात्तीको आतंक दोहोरिएको छ । टङ्क बराइलीको टिनको छानो भएको कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको थियो । भण्डारमा राखिएको आठ क्विन्टल धान र एक क्विन्टल चामल हात्तीले खाइदिँदा करिब ४५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गली हात्तीको निरन्तर गाउँ प्रवेशले स्थानीयवासी त्रसित बनेका छन् । बासस्थान नजिकै मानव बस्ती विस्तार हुँदा मानव–हात्ती द्वन्द्व बढ्दै गएको भन्दै स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।

सम्बन्धित समाचारसबै