विराटनगर । अप्पन विराटगढ परोपकार समाज केन्द्रीय कार्यालय विराटनगरको आयोजनामा मैथिली भाषा लोक संरक्षण एवं जनजागरण अभियानसँगै लोककला प्रतिभा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा पाँच जना स्थानीय पत्रकारलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता रहेका थिए भने विशिष्ट अतिथिमा देवानगञ्ज गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष जगनरायण मेहता सहभागी थिए । कार्यक्रममा अप्पन विराटगढ परोपकार समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा झा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव अरविन्द मेहता, चर्चित मैथिली गायक बिरेन्द्र झा, स्थानीयवासी, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा मैथिली लोकगीत तथा लोकनृत्यको आकर्षक प्रस्तुति दिइएको थियो भने मिथिला पेन्टिङको प्रदर्शनीले सहभागीको ध्यान तानेको थियो । साथै मिथिलाको परम्परागत खानपान संस्कृतिलाई उजागर गर्दै तिलको लड्डु, बगिया, अचार, हलुवा, अदौरीलगायत विभिन्न लोकपरिकारहरूको प्रदर्शनी गरिएको थियो । स्थानीय मिथिलानी महिलाहरूले आफ्नै घरमा तयार पारेका परिकारहरू कार्यक्रमस्थलमा प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अवसरमा रिपब्लिक नेपालकर्मी जुगेश दास, नमो अनलाइनका ब्रहमदेव मेहता, आजको अपडेटका पत्रकार डुमरलाल मेहता, सनराइज पत्रका पत्रकार अजय मण्डल तथा आर्य न्युजका पत्रकार राजिव मेहतालाई सम्मान गरिएको हो ।
दिव्या ज्योति विद्या मन्दिरका छात्रछात्राहरूले विभिन्न मैथिली गीतमा मनमोहक लोकनृत्य प्रस्तुत गरेका थिए भने गायक बिरेन्द्र झाले आफ्ना लोकप्रिय मैथिली गीत गाएर कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वेचनप्रसाद मेहताले यस्ता कार्यक्रमहरूले लोप हुँदै गएका मैथिली भाषा, खानपान, कला र संस्कृतिलाई पुनर्जीवन दिने बताए । मैथिली भाषा हाम्रो मातृभाषा भएको उल्लेख गर्दै उनले यसको संरक्षण र प्रवर्द्धन देशव्यापी रूपमा गर्नुपर्नेमा जोड दिए । “भाषा, कला र संस्कृतिको संरक्षण बिना पहिचान जोगिँदैन, त्यसैले यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ,” उनले भने ।
विशिष्ट अतिथि वडा अध्यक्ष जगनरायण मेहताले कार्यक्रम सफल भएकोमा शुभकामना व्यक्त गर्दै यस्ता अभियानले स्थानीय कला, संस्कृति र खानपानको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अप्पन विराटगढ परोपकार समाजलाई रु. १५ हजार आर्थिक सहयोग प्रदान गर्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने धारणा व्यक्त गरे ।
अप्पन विराटगढ परोपकार समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा झाले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण समाजको प्रमुख उद्देश्य रहेको बताइन् । उनले पत्रकारहरूले समाजलाई सुसूचित बनाउँदै भाषा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सृजनात्मक तथा सांस्कृतिक कार्यक्रम निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।