भद्रपुर विमानस्थलमा विमान उद्धार चुनौतीपूर्ण

0 Shares

विराटनगर । भद्रपुर विमानस्थलको धावनमार्गबाट बाहिरिएर खोल्सोमा फसेको बुद्ध एयरको एटीआर–७२ विमान उद्धार गर्न आइतबार पनि प्रयास जारी छ। साना क्रेनले विमान उठाउन नसकेपछि आज विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन ल्याएर उद्धार कार्य अघि बढाइँदै छ।

विमानलाई सुरक्षित रूपमा निकाल्न सजिलो बनाउन शनिबार नै विमानभित्रका सबै ७२ सिट हटाइएका छन् भने करिब १,२०० किलो इन्धन निकालिएको छ। काठमाडौँबाट आएका प्राविधिकसहित नागरिक उड्डयन प्राधिकरणको १८ सदस्यीय टोली घटनास्थलमा खटिएको छ। आज ठूलो क्रेनको सहायतामा विमान उचालेर सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।

हाल विमानको पुच्छर धावनमार्ग नजिकै रहेको कारण भद्रपुर विमानस्थलबाट हुने उडान जोखिमपूर्ण बनेका छन्। विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार १,५०० मिटर लम्बाइ भएको धावनमार्गमा हाल १०० मिटर छोट्याएर मात्र अवतरण अनुमति दिइएको छ। शुक्रबारदेखि रोकिएको यति एयरलाइन्सको उडान भने आइतबार बिहान काठमाडौँ फर्किएको छ।

घटनामा संलग्न क्याप्टेन शैलेष लिम्बू र को–पाइलट सुसान्त श्रेष्ठलाई नियमानुसार ग्राउन्डेड गरी स्वास्थ्य परीक्षण गरिएको छ। प्रारम्भिक मूल्यांकनमा विमान निर्धारित बिन्दुभन्दा केही माथिबाट अवतरण प्रयास गर्दा धावनमार्ग बाहिरिएको देखिए पनि वास्तविक कारण ‘ब्ल्याक बक्स’ अध्ययनपछि मात्रै खुल्ने प्राधिकरणको भनाइ छ।

विमानको क्षति र भविष्य निर्धारण गर्न आज बेलायत र भारतबाट बीमा कम्पनीका प्रतिनिधि नेपाल आइपुग्दैछन्। सोमबार फ्रान्सबाट एटीआर निर्माता कम्पनीको प्राविधिक टोलीले निरीक्षण गरेपछि मात्रै विमान पुनः उडान योग्य छ वा छैन भन्ने निर्णय हुनेछ।

प्राविधिक भाषामा ‘रनवे एक्सकर्सन’ भनिने यस्तो घटना नेपाल उड्डयन क्षेत्रका लागि पुरानै चुनौती बनेको छ। एक वर्षअघि भैरहवामा पनि बुद्ध एयरकै एटीआर विमान धावनमार्गबाट बाहिरिँदा ठूलो आर्थिक क्षति भएको थियो।

सम्बन्धित समाचारसबै