विराटनगर । माघी पर्व नजिकिँदै जाँदा थारु बस्तीहरूमा उत्साह र व्यस्तता बढेको छ। थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यो पर्वको तयारी एक महिनाअघिदेखि नै सुरु हुन्छ। आजभोलि थारु बस्तीका घरघरमा दाउरा सङ्कलन, पातको दुनाटपरी बनाउने, ढिक्री, रोटी र जाँडका लागि धान कुट्ने र पिस्ने काम धमाधम भइरहेको छ।
माघीको अवसरमा गाउँका महतवा अर्थात् अगुवाको घरमा भेला भई वर्षभरि गर्ने कामको समीक्षा र नयाँ वर्षको योजना बनाउने परम्परा छ। यसैले माघी केवल चाड मात्र होइन, थारु समुदायका लागि नीति, नियम र निर्णयको पर्व पनि हो। माघ महिनामा गाउँको मुखिया, घरमूली छनोट गर्ने, नयाँ नियम बनाउने र पुराना नियम संशोधन गर्ने चलन रहिआएको छ। यसकारण माघीलाई थारु समुदायले विशेष महत्त्वका साथ मनाउने गर्दछन्।
माघीको अघिल्लो दिन पुरुषहरूले आगोको धुनी बालेर ताप्ने गर्छन्। गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्छन् र भाले बासेसँगै नदी वा खोलामा गएर स्नान गर्छन्। स्नानपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिने र घरघरमा खिचडी दान गर्ने चलन छ। मासको दाल, चामल र नुनले बनेको यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइन्छ। घरका सदस्यले त्यो खिचडी खान नपाउने परम्परा अझै जीवित छ। माघीको अघिल्लो दिन बिहानै गाउँमा बङ्गुर वा सुँगुर मारेर बराबरी बाँड्ने प्रचलन पनि रहेको छ, जसलाई थारु भाषामा ‘जिता मार्ना’ भनिन्छ। यस अवसरमा घोंघी, गँगटा, माछा लगायतका मौलिक परिकार तयार पारिन्छन् र मघौटा नाचको विशेष प्रस्तुति देख्न पाइन्छ।
थारु समुदायमा माघ महिनालाई नै नयाँ वर्ष मानिन्छ। पुस मसान्तसम्म सबै लेनदेन चुक्ता गरी माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गरिन्छ। खेतीपातीदेखि पारिवारिक र सामुदायिक व्यवहारसम्म माघीमा नवीकरण गरिन्छ। यसैबीच माघी नजिकिँदै गएसँगै थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले सांस्कृतिक महोत्सवको तयारी पनि तीव्र बनाएका छन्।
थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीको अवसरमा देशभरका विभिन्न स्थानमा भव्य रुपमा माघी महोत्सव हुँदै आएको छ । महोत्सवमा मघौटा नाच, थारु सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। साथै, घोंघी, माछा, गँगटा, ढिक्री, भाक्का अनदीको रोटी लगायतका थारु मौलिक परिकारको स्वाद लिन पनि पाइनेछ।
थारु भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यसप्रकारका महोत्सवले थारु पहिचानलाई अझ मजबुत बनाउने थारु समुदायको विश्वास छ । परम्परा, एकता र नयाँ सुरुवातको माघी पर्व थारु समुदायको जीवनशैली र संस्कृतिको जीवित उत्सव हो।