खनालद्वारा भेनेजुएलामाथि अमेरिकी आक्रमणको कडा आलोचना

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मदुरोको अपहरणप्रति तीव्र आपत्ति जनाएका छन्।

आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गतको डेल्टा फोर्सले ठूलो संख्यामा लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि आक्रमण गरेको दाबी गरेका छन्। उनले यस कार्यलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन मात्र नभई ‘अमानवीय र आपराधिक’ कदमको संज्ञा दिएका छन्।

विज्ञप्तिमा अमेरिकी आक्रमणका कारण भेनेजुएलामा सर्वसाधारण नागरिक र सुरक्षाकर्मीको ज्यान गएको तथा महत्वपूर्ण सैन्य संरचना नष्ट भएको उल्लेख गरिएको छ। साथै, निर्वाचित राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सेलिया फ्लोरेसलाई जबर्जस्ती अपहरण गरी अमेरिका लगिएको दाबी गर्दै यसलाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको गम्भीर हमला भनिएको छ।

खनालले अमेरिकाले भेनेजुएलाको विशाल तेल सम्पदा नियन्त्रणमा लिने उद्देश्यले लामो समयदेखि षड्यन्त्र गर्दै आएको आरोप पनि लगाएका छन्। मदुरो नेतृत्वको सरकार अमेरिकी हितका लागि बाधक बनेपछि ‘ड्रग तस्करी’ जस्ता आरोपलाई बहाना बनाएर सैन्य हस्तक्षेप गरिएको उनको दाबी छ।

पूर्वप्रधानमन्त्री खनालले नेपाल र नेपाली जनताको तर्फबाट भेनेजुएलाली जनताको प्रतिरोध संघर्षप्रति ऐक्यबद्धता प्रकट गर्दै राष्ट्रपति मदुरो र प्रथम महिलाको शीघ्र र सुरक्षित रिहाइको माग गरेका छन्।

उनले संयुक्त राष्ट्रसंघ, विकासोन्मुख राष्ट्रहरू तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंस्रक हस्तक्षेप र ‘जङ्गली शासन’ विरुद्ध एकजुट हुन आह्वान गरेका छन्। साना र कमजोर मुलुकहरूको स्वतन्त्रता र सार्वभौम अधिकारको संरक्षणका लागि साम्राज्यवादी आक्रमणविरुद्ध कडा अन्तर्राष्ट्रिय कानुनी कारबाही अघि बढाउनुपर्ने खनालको जोड छ।

सम्बन्धित समाचारसबै