धनकुटा । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आवश्यक परे ठूला राजनीतिक दलहरूसँग सहकार्य गर्दै अघि बढ्न सकिने बताएका छन्।
आइतबार धनकुटामा पार्टीले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले पछिल्ला राजनीतिक घटनाक्रम र भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछिको परिस्थितिले निर्वाचनलाई चुनौतीपूर्ण बनाएको उल्लेख गरे। यस्तो अवस्थामा प्रस्ताव आए आपसी समझदारीका आधारमा संयुक्त रूपमा चुनावमा जान आफू तयार रहेको उनको भनाइ थियो।
उनले आगामी राजनीतिक दिशा तय गर्न निर्णायक भूमिका ठूला दलहरूको रहने उल्लेख गर्दै, कुनै एक पक्षतर्फ मात्र ढल्किनुभन्दा सबैलाई सहज रूपमा एकबद्ध गरेर अघि बढ्नु उचित हुने धारणा राखे। ‘हल्ला र अफवाहको भरमा होइन, यथार्थ बुझेर राजनीतिक निर्णय लिनुपर्छ,’ भन्दै उनले आफ्नो पार्टी एकताको मार्गमा केन्द्रित रहेको बताए।
सह–संयोजक नेपालले जेनजी आन्दोलनका मागहरू स्वाभाविक र जायज भए पनि त्यसमा घुसपैठ भएपछि स्थिति जटिल बनेको बताए। आन्दोलनका क्रममा हातहतियार लुटपाट, सार्वजनिक तथा सुरक्षा निकायका भवनमा आगजनीजस्ता घटनाले देशको अवस्था चिन्ताजनक बनेको उनको भनाइ थियो।
निर्वाचन सम्भव छ कि छैन भन्ने प्रश्नमा उनले सुरक्षा निकायहरूसँग निरन्तर छलफल भइरहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको दाबी गरे। ‘चुनावका लागि वातावरण तयार हुँदैछ, निर्धारित मितिमै निर्वाचन हुन्छ,’ उनले स्पष्ट पारे।
साथै, संसद् पुनःस्थापना असाधारण परिस्थिति र अदालतको आदेशअनुसार मात्र हुने उल्लेख गर्दै उनले अहिलेको अवस्थामा निर्वाचन नै एकमात्र विकल्प भएको बताए। गणतन्त्र र सङ्घीय प्रणालीको संरक्षणका लागि तोकिएकै मितिमा चुनाव हुनुपर्ने उनको जोड थियो।
पूर्वप्रधानमन्त्री नेपाल शनिबार सङ्खुवासभा हुँदै धनकुटा आएका थिए। पार्टी एकता सभालाई सम्बोधन गरेपछि उनी आइतबार इटहरीमा हुने अर्को एकता सभामा सहभागी भई त्यसपछि काठमाडौं फर्किने कार्यक्रम रहेको पार्टीले जनाएको छ।