गृहमन्त्री अर्याल र मुस्लिम समुदायबीच छलफल, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

0 Shares

मधेश प्रदेशमा पछिल्लो समय धार्मिक तनाव बढ्दै गएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले मुस्लिम समुदायका अगुवाहरूसँग छलफल गरेका छन्। आइतबार गृहमन्त्रालयमा भएको भेटमा राष्ट्रिय मुस्लिम समन्वय समिति र संघीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले सामूहिक रूपमा गृहमन्त्री अर्यालसँग भेटवार्ता गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म, आस्था र सम्प्रदायमाथि खलल पु¥याउने जो–कोहीलाई सरकार र गृह प्रशासनले तत्काल कारबाहीको दायरामा ल्याउने स्पष्ट प्रतिबद्धता जनाए। उनले मुस्लिम समुदायबाट उठाइएका विषयप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै अहिलेको प्रमुख आवश्यकता धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्नु रहेको बताए।

प्रदेश तथा जिल्लातहमा शान्ति सुव्यवस्था कायम गर्न सबै धर्म र सम्प्रदायले संयमित व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै गृहमन्त्री अर्यालले शान्ति सुरक्षा कायम गर्नु गृह प्रशासनको मुख्य जिम्मेवारी भएको स्पष्ट पारे। यसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा सबै समुदायको सक्रिय भूमिकाबाट साम्प्रदायिक तनावलाई समयमै नियन्त्रण गर्न सकिने उनको भनाइ थियो।

भेटमा राष्ट्रिय मुस्लिम समन्वय समितिका तर्फबाट मोहम्मद युनुस अहमर (हास्मी), मौलाना मजरुल हसन, सीमा खान, मौलाना खुर्सिद आलम र ताज मोहम्मद मियाँ सहभागी थिए। त्यस्तै, जमियात उलमा नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, कल्पना मियाँ, नेपाल हज कमिटीका अध्यक्ष मोख्तर अहमद, ताज मोहम्मद मियाँ र मोहम्मद फलाउल्लाह उपस्थित थिए। संघीय लोकतान्त्रिक गठबन्धनका तर्फबाट मोहम्मद रिजवान अन्सारी, विमला अन्सारीलगायतले सहभागिता जनाएका थिए।

प्रतिनिधिहरूले मुस्लिम समुदाय लक्षित केही असामाजिक गतिविधि, धार्मिक सहिष्णुता भड्काउने प्रयास तथा आगामी फागुन २१ गते हुने निर्वाचनलाई असर पार्न सक्ने सम्भावित अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

टिकटकबाट सुरु भएको विवादपछि जनकपुरमा मस्जिद तोडफोडको घटना भएपछि तराई–मधेशमा तनाव बढेको छ। वीरगन्जमा अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको छ भने मधेशका आठै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकायले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचारसबै