वीरगञ्ज। सामाजिक सञ्जाल टिकटकमा धर्म र संस्कृतिलाई लक्षित गरी गरिएको आपत्तिजनक टिप्पणीपछि मधेश प्रदेशको सुरक्षा अवस्था संवेदनशील बनेको छ। धनुषामा सुरु भएको विवादको असर पर्सा जिल्लाको वीरगञ्जसम्म फैलिएको छ।
धनुषा र पर्सासहित मधेशका आठवटै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। एक उच्च प्रहरी अधिकारीका अनुसार परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै निगरानी र सुरक्षा व्यवस्था कडा बनाइएको हो।
केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका दुई युवाले टिकटकमार्फत धार्मिक सहिष्णुतामा आँच पुग्ने सामग्री सार्वजनिक गरेका थिए। उक्त भिडियोप्रति स्थानीय समुदायले आपत्ति जनाएपछि दुवै जनालाई स्थानीय अगुवाहरूले प्रहरीसमक्ष बुझाएका थिए।
इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको अवस्थामा उनीहरू पक्राउ परेको भन्दै केही युवाहरू आक्रोशित बनेका थिए। सोही क्रममा एक मस्जिदमाथि आक्रमणसमेत भएको जनाइएको छ। घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिएका छन्।
धनुषाको घटनालाई लिएर पर्साको वीरगञ्जमा पनि तनाव देखिएको छ। आइतबार बिहानैदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ भने सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन सक्रियता बढाएका छन्।