काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग चलिरहेको वार्ता निर्णायक मोडमा पुगेको संकेत दिएका छन्। आफ्ना मागप्रति सरकार गम्भीर नदेखिए वार्ता तत्कालै तोडिन सक्ने चेतावनी उनले दिएका हुन्।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले सरकारलाई आफ्ना माग औपचारिक रूपमा बुझाइसकिएको जानकारी गराए। तर, वार्ताको वातावरण निर्माणमा सरकार चुकेको उनको आरोप छ। “आजै पनि वार्ता टुट्न सक्छ, कम्तीमा सकारात्मक वातावरण बनाइयोस्,” उनले भने।
सरकारले माग सम्बोधन नगरे आन्दोलन नै अन्तिम विकल्प हुने भन्दै प्रसाईंले आफू जुनसुकै बेला, जुनसुकै ठाउँमा संघर्षका लागि तयार रहेको दाबी गरे। “आन्दोलनका लागि म कुनै पनि सीमामा बाँधिएको छैन,” उनको भनाइ थियो।
उनले समान विचारधाराका शक्ति एकजुट भएर साझा एजेन्डा पूरा गर्न दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। साथै, मुलुक गम्भीर संकटमा रहेको उल्लेख गर्दै विदेशिएका युवाहरू स्वदेश फर्किएर राष्ट्र निर्माणमा लाग्नुपर्ने अपिलसमेत गरे।