अनुसन्धान प्रतिवेदनको खुलासा : हसिनाको शासनकालमा सयौँ नागरिक अपहरणपछि हत्या

0 Shares

विराटनगर । बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा ठूलो संख्यामा जबर्जस्ती अपहरण र हत्या भएको तथ्य बाहिर आएको छ। सरकारद्वारा गठन गरिएको एक अनुसन्धान आयोगका अनुसार करिब २ सय ८७ जना अपहरणपछि मारिएको हुनसक्ने अनुमान गरिएको छ।

आयोगले १ हजार ५ सय ६९ वटा अपहरणका घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा अपहरणमा परेका धेरै व्यक्तिको शव ढाकाको बुरिगङ्गा नदीसहित विभिन्न नदीमा फालिएको वा सामूहिक चिहानमा गाडिएको हुन सक्ने निष्कर्ष निकालिएको छ। समाचार संस्था एएफपीले आयोगको प्रतिवेदन उद्धृत गर्दै यो जानकारी दिएको हो।

आयोगका अनुसार देशका विभिन्न स्थानमा चिन्ह नलगाइएका चिहानहरू समेत फेला परेका छन्। अन्तिम प्रतिवेदनमा सुरक्षा निकायहरूले शेख हसिना र उनका उच्च अधिकारीहरूको निर्देशनमा काम गरेको र त्यस क्रममा गम्भीर मानवअधिकार उल्लङ्घन भएको उल्लेख गरिएको छ।

अपहरणमा परेका अधिकांश व्यक्ति शेख हसिनाको विरोधमा रहेका जमात–ए–इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको आयोगको भनाइ छ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले सत्ता जोगाउने क्रममा गरिएको दमनमा झन्डै १ हजार ४ सय जनाको ज्यान गएको जनाएको छ। शेख हसिनालाई मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको बताइएको छ।

सम्बन्धित समाचारसबै