काठमाण्डौ । मोबाइल एपमार्फत आकर्षक कमाइको सपना देखाएर सर्वसाधारणलाई ठग्ने गिरोहलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले ‘एसएमसी’ नामक मोबाइल एप प्रयोग गरी ठगी गरेको अभियोगमा एक चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त समूहले सामाजिक सञ्जाल र अनलाइन विज्ञापन प्रयोग गरी घरमै बसेर सजिलै पैसा कमाउन सकिने भनी प्रलोभन देखाउँदै मानिसहरूलाई एप डाउनलोड गराएको थियो। त्यसपछि विभिन्न बहानामा लगानी गराउन लगाई ठूलो मात्रामा रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
साइबर ब्युरोका अनुसार हालसम्म ७ हजारभन्दा बढी व्यक्तिबाट १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै रकम ठगिएको पुष्टि भइसकेको छ। ठगी गिरोहले चितवनको खैरहनी क्षेत्रमा कार्यालय नै स्थापना गरेर संगठित रूपमा गतिविधि सञ्चालन गरिरहेको पाइएको छ।
अनुसन्धानमा उनीहरूले विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको झुटो दाबी गर्दै फिल्मका विज्ञापन हेरेबापत पैसा पाइने भन्दै मानिसहरूलाई एसएमसी एपमा पैसा लगानी गर्न बाध्य बनाउने गरेको खुलेको छ। सुरुमा थोरै रकम फिर्ता दिएर विश्वास जित्ने र पछि ठूलो लगानी गराएर सम्पर्कविहीन हुने उनीहरूको शैली रहेको प्रहरीको भनाइ छ।
यसैबीच, साइबर ब्युरोले सर्वसाधारणलाई थोरै कमिसनको लोभमा आफ्नो बैंक खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन कडा चेतावनी दिएको छ। यस्तो कार्यले व्यक्ति अनजानमै ‘मनी म्युल’ बन्न सक्ने खतरा रहेको ब्युरोले जनाएको छ।
प्रहरीले घरमै बसेर भिडिओ हेरेर पैसा कमाइने वा थोरै लगानीमा अत्यधिक नाफा हुने जस्ता अनलाइन विज्ञापनहरू प्रायः ठगी हुने भएकाले यस्ता प्रलोभनको पछि नलाग्न आग्रह गरेको छ। कुनै पनि अनलाइन एप वा व्यवसायमा जोडिनुअघि त्यसको आधिकारिकता, कम्पनी विवरण र कानुनी दर्ता अनिवार्य रूपमा जाँच गर्न सुझाव दिइएको छ।
यदि कसैले यस्ता एप, अनलाइन टास्क वा डिजिटल प्लेटफर्ममार्फत ठगीमा परेको अनुभव गरेको छ भने तुरुन्तै प्रमाणसहित नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन समेत आग्रह गरिएको छ।