गोठबाटै सुरु हुँदैछ रियालिटी शो ‘दूध’, किसान बन्दैछन् स्टार

0 Shares

चितवन । नेपालमै पहिलोपटक पशुपालक किसानलाई केन्द्रमा राखेर दूध दुहुने प्रतिस्पर्धात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। किसानको दैनिकी, सीप र मेहनतलाई मनोरञ्जनसँग जोड्दै प्रस्तुत गर्ने उद्देश्यका साथ यो कार्यक्रम निर्माण गरिएको हो।

चितवनको भरतपुर महानगरपालिकामा व्यावसायिक रूपमा पशुपालन गर्दै आएका र सहकारीमार्फत दूध बिक्री गर्दै आएका २० जना किसानलाई छनोट गरी कार्यक्रम तयार पारिएको छ। शोमा केवल दूध दुहुने प्रतिस्पर्धा मात्र होइन, पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ र दूधको गुणस्तर समेत मूल्याङ्कन गरिनेछ।

कार्यक्रम निर्माता रविन सुवेदीका अनुसार दूध उत्पादनमा आत्मनिर्भर चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा चिनिन्छ। “पशुपालनकै माध्यमबाट आर्थिक उन्नति गरेका मेहनती किसानको सम्मान गर्न यो कार्यक्रम ल्याइएको हो,” उहाँले बताउनुभयो।

कार्यक्रम संयोजक गोविन्द न्यौपानेले कृषिलाई फरक ढङ्गले प्रस्तुत गर्दै किसानलाई ‘आइडल’को रूपमा स्थापित गर्ने लक्ष्यसहित शो निर्माण गरिएको जानकारी दिनुभयो। परम्परागत कृषि कार्यक्रमभन्दा फरक स्वाद दिन यो रियालिटी शो तयार पारिएको उहाँको भनाइ छ।

कार्यक्रमको निर्णायक मण्डलमा कृषि, पशुपालन र दुग्ध क्षेत्रमा अनुभवी विज्ञहरू रहनेछन्। निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे सहभागी रहनुहुनेछ।

गोठमै पुगेर किसानको सीप, अनुशासन र मेहनतको मूल्याङ्कन गरिने यो शोले पशुपालनलाई नयाँ पुस्तासम्म आकर्षक रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै