मिथ्या सूचना नियन्त्रणमा निर्वाचन आयोग सक्रिय

0 Shares

काठमाण्डौ । आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउन चुनावी आचारसंहिताको कार्यान्वयनलाई थप कडा बनाउने तयारी गरिएको छ। त्यसका लागि बलियो र प्रभावकारी संयन्त्र निर्माण गरी कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिइएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले निर्वाचन अवधिमा सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना, भ्रमपूर्ण सामग्री र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न विशेष संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको हो। सूचना प्रविधिको तीव्र विस्तारले आचारसंहिता कार्यान्वयनमा नयाँ चुनौती थपेकाले त्यसलाई नियन्त्रण गर्न फरक रणनीति अपनाउनुपर्ने समितिको ठहर छ।

निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत गठन गरिएको समितिको बैठक निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा सम्पन्न भएको थियो। बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालको नियमन अहिलेको चुनावी वातावरणमा अत्यन्त संवेदनशील र महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार आचारसंहिता उल्लङ्घन रोक्न नियामक निकाय, अनुसन्धान गर्ने संस्था र अभियोजन गर्ने निकायबीच घनिष्ठ सहकार्य अपरिहार्य छ। प्रविधिको दुरुपयोग नियन्त्रण गर्न आयोगले उपलब्ध सबै संयन्त्रलाई सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्ने उहाँको भनाइ छ।

अनुगमन समितिका संयोजक सगुन शम्शेर जबराले विगत निर्वाचनमा देखिएका कमजोरीबाट सिक्दै यसपटक आचारसंहिता कार्यान्वयनमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले निष्पक्ष चुनावका लागि आचारसंहिता पालनामा सबै सरोकारवाला पक्षको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो।

आयोगको यो पहलले चुनावी प्रक्रियालाई थप विश्वसनीय बनाउँदै डिजिटल माध्यमबाट हुने दुरुपयोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै