विशेष महाधिवेशनको दबाब बढ्यो, कांग्रेस केन्द्रीय कार्यालय सानेपा घेराउ

0 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्किँदै जाँदा त्यसका पक्षधर कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्। नियमित महाधिवेशनको कार्यतालिका अघि बढ्न नसकेपछि पार्टीभित्र असन्तोष थप गहिरिँदै गएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ। पार्टी विधानको धारा १७(२) अनुसार आवश्यक ५४ प्रतिशतभन्दा बढी, अर्थात् २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको तीन महिना पुग्न लाग्दासमेत केन्द्रीय नेतृत्वले ठोस निर्णय नगरेको भन्दै पक्षधरहरू आक्रोशित बनेका हुन्।

सोमबार विशेष महाधिवेशनको पक्षमा उभिएका कार्यकर्ताहरूले केन्द्रीय कार्यालय अगाडि नारा–जुलुस गर्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरूले भृकुटीमण्डपमा हल बुक गरी पुस मसान्तमै विशेष महाधिवेशन गर्ने तयारीसमेत अघि बढाइसकेका छन्।

यता, पार्टी संस्थापन पक्ष भने नियमित १५औँ महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णयमा अडिग देखिएको छ। यसले कांग्रेसभित्रको मतभेद अझ स्पष्ट बनेको छ।

पार्टीभित्र देखिएको यो आन्तरिक खिचातानीले आगामी फागुनमा हुने संसदीय निर्वाचनमा असर पर्न सक्ने विश्लेषण हुन थालेको छ। एकता कायम गर्न विभिन्न तहमा छलफल जारी रहे पनि हालसम्म सहमतिको बाटो खुल्न सकेको छैन।


सम्बन्धित समाचारसबै