काठमाण्डौ । नेकपा एमालेले आगामी निर्वाचनको समग्र परिचालन जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई सुम्पेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो। यसबाट बादलले पार्टीको चुनावी रणनीति र समग्र परिचालनको मुख्य कमाण्डरको भूमिका निर्वाह गर्ने भएका छन्।
उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीको सचिवमा विष्णुप्रसाद रिमाल रहेका छन् भने सदस्यहरूको सूचीमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिम्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन्।
पार्टी भित्रको छलफलअनुसार यो कमिटीमा प्रत्यक्षतर्फ चुनाव नलड्ने नेताहरूलाई प्राथमिकता दिइएको थियो। एमालेले यस कदममार्फत आगामी निर्वाचनका लागि प्रभावकारी परिचालन र समन्वय सुनिश्चित गर्ने उद्देश्य राखेको छ।