विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउने भएका छन्। नयाँ मन्त्रीहरूको शपथ प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजे तय गरिएको छ।
हालको सरकारमा रहेका सबै मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्। गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना वर्तमान मन्त्रीहरू फिर्ता बोलाएर नयाँ अनुहारलाई मन्त्रालयमा पठाउने सहमति गरेपछि शपथ ग्रहणको प्रक्रिया आजै टुंगो लागेको छ।
वर्तमान मन्त्रिमण्डलमा एमालेबाट रहेका मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई छन्।
कांग्रेसबाट भने भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम रहेका थिए।
एमालेका आन्तरिक मामिला मन्त्री भण्डारीले मन्त्रीहरूले आजै राजीनामा दिने पुष्टि गरेका छन्।
पुनर्गठित मन्त्रिमण्डलमा एमालेबाट विदुर लिङ्थेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली, रामकुमार महतो मन्त्री बन्नेछन्। लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन, र महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइनेछ। साथै, उमाकान्त गौतम राज्यमन्त्री बन्ने तयारी छ।
कांग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू, इस्राइल मन्सुरी मन्त्री बन्दैछन्। सुनुवार भौतिक पूर्वाधार, पराजुली पर्यटन, वन तथा वातावरण, लिम्बू स्वास्थ्य, र मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनेछन्। शोभा चेम्जोङ राज्यमन्त्री बन्नेछिन्।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रालयको भागबण्डा भने यथावत् रहनेछ। स्रोतले भने, “मन्त्रालय उही छन्, व्यक्ति मात्र फेरिँदैछ। लामो समयदेखि चर्चामा रहेर आएर अब कार्यान्वयन हुँदैछ।”
यस पुनर्गठनसँगै कोशी प्रदेशको सरकारमा नयाँ नेतृत्व र कार्यकारिता सुदृढ गर्ने तयारी पूरा भएको छ।