एमाले सचिव बस्नेतको कडा आरोप: बालेन ‘लुसिफर’, कुलमान ‘नक्कली हिरो’

0 Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङमाथि कडा आरोप लगाएका छन्।

एमाले सचिवालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले बालेनलाई ‘लुसिफर’ र कुलमानलाई ‘नक्कली हिरो’ भने। बालेनले अन्तर्राष्ट्रिय शक्तिको आडमा आन्दोलन ‘हाइज्याक’ गर्ने, संसद विघटन गराउने र लोकतन्त्र हरण गरी सेनाको माध्यमबाट सत्ता कब्जा गर्ने प्रयास गरेको आरोप बस्नेतले लगाए।

कुलमानमाथि भने भ्रष्टाचार र अनियमिततासँग जोडेर उर्जा मन्त्रालयका डाटा बेचेर कमिसन खाने र लोडसेडिङ गराउने खेलमा संलग्न भएको आरोप लगाइएको छ। बस्नेतले यी गतिविधिले देशलाई अस्थिरतातर्फ लैजान खोजिरहेको बताए।

उनले दाबी गरे कि एमालेले ‘नक्कली हिरो’को आवरण चिरेर जनतासम्म पुग्ने र आगामी निर्वाचनमा बहुमतसहित उठ्ने योजना बनाएको छ। यसैगरी, एमाले र कांग्रेसबीच उच्चस्तरीय समझदारी बनेको र राष्ट्रियता तथा लोकतन्त्र संकटमा परेको अवस्थामा राष्ट्रवादी र लोकतन्त्रवादी शक्तिहरूलाई एकजुट हुनुपर्ने आवश्यकता रहेको उनले बताए।

बस्नेतले एमाले एक्लैले पनि बहुमत ल्याउन सक्ने र राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्नु प्रणाली जोगाउने उद्देश्यका लागि भएको पनि स्पष्ट पारे।

सम्बन्धित समाचारसबै