कांग्रेस नेता निधिमाथि पार्टी कार्यालयमा दुर्व्यवहा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय प्रवेशका क्रममा दुर्व्यवहार भएको छ। घटनापछि प्रतिक्रिया दिँदै निधिले दुर्व्यवहार गर्ने व्यक्ति कांग्रेस कार्यकर्ता नै नहुन सक्ने आशंका व्यक्त गरेका छन्।

निधिका अनुसार, आफूलाई विशेष महाधिवेशनको विषय उठाउँदै दुर्व्यवहार गरिए पनि विशेष महाधिवेशन पक्षधरले कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गरिसकेको अवस्थामा आक्रमण गर्ने व्यक्ति बाहिरबाट परिचालित हुन सक्ने सम्भावना रहेको छ।

उनले विशेष महाधिवेशन पक्षधरका तर्फबाट मधु आचार्यले केन्द्रीय कार्यालय घेराउलगायत कुनै गतिविधि नहुने जानकारीसहित विज्ञप्ति जारी गरिसकेको स्मरण गराए। दुर्व्यवहार गर्ने व्यक्तिको अवस्था र व्यवहार हेर्दा ऊ रक्सी सेवन गरेको जस्तो देखिएको र कांग्रेसको कार्यकर्ता जस्तो नलागेको निधिको भनाइ छ।

घटनाका क्रममा सुरुमा विशेष महाधिवेशन हुने–नहुने विषयमा प्रश्न गरिएको र आफू त्यसको पक्षमा नरहेको बताएपछि ‘विपक्षमा उभिन नपाइने’ भन्दै दुर्व्यवहार भएको निधिले बताए।

यद्यपि, निधिले घटनालाई ठूलो रूपमा नलिएको स्पष्ट पार्दै राजनीतिक अडान धम्की र दुर्व्यवहारबाट नडगमगिने बताएका छन्। “बाल्यकालदेखि नै यस्ता दुर्व्यवहार सहँदै आएको हुँ,” उनले भने, “यस्ता घटनाले मेरो राजनीतिक यात्रामा कुनै असर पार्दैन।”

सम्बन्धित समाचारसबै