काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता सुरु हुन लाग्दा पनि प्रमुख राजनीतिक दलहरूबीच सिट बाँडफाँटको सहमति टुंगिन सकेको छैन । अन्तिम समयसम्म पनि तालमेलका लागि छलफल जारी रहे पनि निर्णायक निष्कर्ष ननिस्किएको हो ।
दलहरूबीच सहमति जुट्न नसक्नुको मुख्य कारण नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अडान रहेको कांग्रेस र एमालेका नेताहरू बताउँछन् । सुरुमा सहमत देखिएका प्रचण्ड पछिल्लो समय सिट संख्यामा थप माग राखेपछि वार्ता अवरुद्ध भएको उनीहरूको भनाइ छ ।
कांग्रेसका एक नेताका अनुसार प्रचण्ड सहमतिमा नआए कांग्रेस र एमालेबीच मात्रै सिट बाँडफाँट गरेर अघि बढ्ने विकल्पमा गम्भीर छलफल भइरहेको छ । “त्यस्तो अवस्थामा कांग्रेसले १० र एमालेले ८ सिट लिने मोडेलमा कुरा चलिरहेको छ,” ती नेताले भने ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ सिट रिक्त हुँदैछन्, जसमध्ये १८ सिटका लागि निर्वाचन हुनेछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।
यसअघि कांग्रेस र एमालेले ७–७, नेपाली कम्युनिस्ट पार्टीले ३ र जसपा नेपालले १ सिट लिने गरी तालमेल गर्ने प्रारम्भिक सहमति भएको थियो । तर पछिल्लो समय प्रचण्डले कम्तीमा चार सिटको माग राखेपछि सहमति भाँडिएको बताइन्छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि यही कारणले कुरा नमिलेको पुष्टि गरे । “पहिले तीन सिटमा सहमति थियो, तर पछि बढी सिट चाहियो भन्ने कुरा आएपछि समस्या भयो,” उनले भने ।
प्रचण्डले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै कसैसँग पनि तालमेल नगर्ने अभिव्यक्ति दिएका थिए । सिट बाँडफाँटमा सहमति नजुटेकै कारण उक्त अभिव्यक्ति आएको कांग्रेस–एमाले नेताहरूको विश्लेषण छ ।
अब प्रचण्ड सहमतिमा नआए कांग्रेस र एमाले मात्रै मिलेर निर्वाचनमा जाने तयारीमा पुगेका छन् ।







