दलनिरपेक्ष सरकारमाथि प्रश्न, मन्त्रीहरूलाई पद छाड्न दबाब

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा वर्तमान मन्त्रिपरिषद्‌भित्रैबाट राजीनामाको दबाब बढ्न थालेको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा दलमा आबद्ध भएर चुनावी तयारीमा रहेका मन्त्रीहरूलाई पद छाड्न आग्रह गरेकी हुन् ।

सरकारमा दलनिरपेक्षता कायम नरहेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्रीले यस्तो आग्रह गरेको बताइन्छ । हालको मन्त्रिपरिषद्‌मा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता निर्वाचनमा होमिने तयारीमा देखिएका छन् ।

घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति रहेको बताइँदै आए पनि उनले आफू कुनै पनि दलको औपचारिक सदस्य नभएको दाबी गर्दै आएका छन् । मंगलबार सार्वजनिक रूपमा दिएको यही अभिव्यक्तिले झनै विवाद सिर्जना गरेको र मन्त्री घिसिङ असहज स्थितिमा परेको उनी निकट स्रोतहरू बताउँछन् ।

उनको भनाइपछि सत्तारूढ दल र बाहिरका राजनीतिक वृत्तबाट थप प्रश्न उठ्न थालेको र यसले चुनावी यात्रामा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ । यही कारण घिसिङले अब राजीनामा दिएर निर्वाचनमा केन्द्रित हुने तयारी थालेको स्रोतको दाबी छ ।

राजीनामा कहिले दिने भन्ने प्रश्नमा घिसिङ निकट स्रोतले आगामी एक–दुई दिनभित्रै निर्णय आउने सम्भावना रहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय भइसकेको छ भने माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका छ । त्यसअघि नै पद त्यागेर चुनावमा जाने रणनीतिमा उनी देखिएका छन् ।

यसअघि घिसिङले राजनीतिक गतिविधिमा सहभागी हुन नपाउने व्यवस्था कानुनमा नभएको तर्क गर्दै आएका थिए । उज्यालो नेपाल पार्टीका संस्थापकसमेत रहेका उनले नागरिक सरकारको अवधारणाअन्तर्गत आफू मन्त्री बनेको दाबी गर्दै आएका थिए ।

प्रधानमन्त्रीको आग्रहभन्दा अघि नै जेनजी मुभमेन्ट नेपालले नागरिक सरकारमा दलीय मन्त्री रहन नहुने भन्दै मन्त्री घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई हटाउन माग गरेको थियो । मुभमेन्टले सरकारको दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाउँदै, खुलेआम राजनीतिक गतिविधिमा संलग्न पदाधिकारीलाई निरन्तरता दिनु सरकारको दोहोरो चरित्र भएको आरोप लगाएको छ ।

सम्बन्धित समाचारसबै