राष्ट्रिय सभा निर्वाचन: कांग्रेस–एमाले–जसपाबीच तालमेल, कांग्रेसका ९ उम्मेदवार तय

0 Shares

काठमाण्डौ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच भएको सहमतिअनुसार संयुक्त तालमेलमा उम्मेदवारी दिने निर्णय गरिएको हो।

तालमेलअनुसार कांग्रेसको भागमा ९ सिट परेको छ भने एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

कांग्रेसले सार्वजनिक गरेको सूचीअनुसार कोशी प्रदेशबाट सुनीलबहादुर थापा उम्मेदवार बनेका छन्। मधेस प्रदेशमा धनेन्द्र पासवास र रञ्जित कर्णलाई अघि सारिएको छ। बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट तिमिल्सिना उम्मेदवार हुनेछन्।

त्यसैगरी लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार तय भएका छन्।

नेकपा एमालेले मधेस प्रदेशबाहेक अन्य प्रदेशमा आफ्ना उम्मेदवार टुंग्याइसकेको जनाएको छ भने जसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

फागुन २० गतेदेखि रिक्त हुन लागेको १८ सिटका लागि मनोनयन दर्ता भइरहेको हो भने राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय भएको छ।

सम्बन्धित समाचारसबै