काठमाडौं । सोलो ट्राभलरका रूपमा परिचित सिर्जना वलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीबाट आफ्नो नाम हटाउने निर्णय गरेकी छन्। सूचीमा नाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उनले राजनीतिमा तत्काल प्रवेश नगर्ने स्पष्ट पारेकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वलीले आफू अहिले सक्रिय राजनीतिमा आउने मनस्थितिमा नरहेको बताइन्। उनले पुराना नेतृत्वलाई गाली गर्ने र नयाँ अनुहारलाई अन्धाधुन्ध प्रशंसा गर्ने प्रवृत्तिले देशमा वास्तविक परिवर्तन नआउने धारणा राखेकी छन्।
उनका अनुसार सामाजिक सञ्जालमा बनेका एजेन्डा दुर्गम र पिछडिएका क्षेत्रसम्म व्यवहारिक रूपमा पुग्छन् कि पुग्दैनन् भन्ने प्रश्न गम्भीर रूपमा बुझ्न आवश्यक छ। “नेतालाई गाली गरेर चुनाव जित्नु तर स्पष्ट एजेन्डा नहुनु परिवर्तन होइन,” उनले उल्लेख गरेकी छन्।
राजनीति केवल रहर वा सत्ता प्राप्तिको विषय मात्र नभएको बताउँदै वलीले आफूले जीवनका कठिन भोगाइहरू नजिकबाट अनुभव गरेको पनि स्मरण गराएकी छन्। कर्णालीदेखि हिमाली भूगोलसम्म पैदल यात्रा गर्दै विभिन्न समुदायसँग बिताएको समयले आफूलाई राज्य र समाज बुझ्ने अवसर दिएको उनको भनाइ छ।
“म अहिले राजनीति गर्दिनँ, तर यसको अर्थ म राजनीति नबुझ्ने वा गर्न नसक्ने होइन,” भन्दै उनले कर्णालीबाट सक्षम प्रतिनिधि चयन गर्न सहयोग गर्न आग्रह गरेकी छन्। आफू पदको खोजीमा नभई सधैं नागरिकसँगै रहने उनको भनाइ छ।
उल्लेखनीय छ, वलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नजिकको समूहको सिफारिसमा रास्वपाको समानुपातिक सूचीमा समावेश गरिएको थियो।