विराटनगर । मानव बेचबिखन तथा शारीरिक यातना दिएको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–७ र ८ मा बसोबास गर्दै आएका दुई जनाले एक महिलालाई विदेश पठाइदिने प्रलोभन देखाई मानव बेचबिखन गरेको र शारीरिक यातना दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पीडित महिलालाई वैदेशिक रोजगारीका लागि सहयोग गरिदिने भन्दै आश्वासन दिइएको तर पछि शारीरिक तथा मानसिक यातना दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूले महिलामाथि जबर्जस्ती राखी कुटपिटसमेत गरेको आरोप छ ।
पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा ओसारपसार र शारीरिक यातनासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अदालतबाट म्याद थप गरी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।