सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता दर्ता भएका छन् । मतदाता नामावली अद्यावधिकपछि सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लाका १२ वटै स्थानीय तहबाट मतदाता सूची तयार गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दर्ता भएका मतदातामध्ये दुई लाख ९४ हजार २५२ जना पुरुष, दुई लाख ८६ हजार ६९१ जना महिला तथा दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्लामा चार निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । ती क्षेत्रहरूमा मतदान सञ्चालन गर्न जिल्लाभर १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
मतदाता सङ्ख्याका आधारमा निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै एक लाख ५६ हजार ९९० मतदाता रहेका छन् भने सबैभन्दा कम मतदाता निर्वाचन क्षेत्र नम्बर ४ मा एक लाख ३४ हजार ३०२ जना रहेका छन् ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको प्रक्रिया सम्पन्न गरेपछि यी तथ्याङ्क सार्वजनिक गरेको हो । आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन मतदाता शिक्षा, सचेतनामूलक कार्यक्रम तथा अन्य तयारीका कार्यहरू तीव्र रूपमा अघि बढाइएको प्रमुख पौडेलले बताए ।
यता, सङ्घीय सरकारले निर्वाचन व्यवस्थापनका लागि सुनसरीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू खटाइसकेको छ । सुनसरी जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै संयन्त्र परिचालित गरिएको कार्यालयको भनाइ छ ।