काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । निर्वाचन सुरक्षाका लागि कुल १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि, २०८२ अनुसार म्यादी प्रहरी भर्ना गरिन लागिएको हो । यसका लागि इच्छुक नेपाली नागरिकले माघ १० गतेभित्र आवेदन दिन सक्नेछन् ।
भर्ना प्रक्रियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूलाई पनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ । साथै, पुस महिनासम्म सेना, प्रहरी तथा सशस्त्र प्रहरीमा आवेदन दिएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
यसअघि भएका निर्वाचनमा म्यादी प्रहरीका रूपमा अनुभव हासिल गरेका व्यक्तिहरू तथा विदेशी सेनामा सेवा गरेका नेपाली नागरिकलाई समेत प्राथमिकतामा राखिने नेपाल प्रहरीले स्पष्ट पारेको छ ।
योग्यता मापदण्डअनुसार पुरुष आवेदकको न्यूनतम उचाइ ५ फिट र महिलाको हकमा ४ फिट १० इन्च तोकिएको छ । महिला आवेदक गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि लागू गरिएको छ ।
आवेदन दिने उम्मेदवारहरूमध्ये माघ ९ गतेभित्र छनोट प्रक्रिया सम्पन्न गरिने र छनोट भएका म्यादी प्रहरीलाई माघ १५ गतेदेखि तालिम प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।







