कञ्चनपुर । बेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको सहायक राधा नदीमा बाढी जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधि प्रयोग सुरु गरिएको छ । बाढीको समयमै सूचना उपलब्ध गराउने उद्देश्यले राधा नदीमा रडार लेभल सेन्सर (आरएलएस) जडान गरिएको हो ।
नदीको जलस्तर निरन्तर मापन गरी वास्तविक समयमै तथ्याङ्क उपलब्ध गराउने क्षमतायुक्त यो प्रविधि ‘स्मार्ट’ परियोजनाअन्तर्गत जडान गरिएको परियोजना संयोजक राजकुमार सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) कञ्चनपुरको सहकार्यमा उक्त परियोजना सञ्चालन गरिएको हो ।
रडार लेभल सेन्सरमार्फत नदीको पानीको सतहमा हुने उतार–चढावको निगरानी निरन्तर गरिनेछ । प्राप्त विवरण तत्काल सम्बन्धित निकायसम्म पुग्ने भएकाले बर्खायाममा आउन सक्ने बाढीको जोखिमबारे समयमै चेतावनी दिन सकिने अपेक्षा गरिएको छ ।
यस प्रविधिको प्रयोगले विशेषगरी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्क बनाउँदै सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । स्थानीयस्तरमा आपत् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको सरोकारवालाहरूले बताएका छन् ।