कास्की । रुपा गाउँपालिकाले कृषिलाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्यसहित किसान केन्द्रित अनुदान कार्यक्रम सञ्चालन गर्दै लसुन, प्याज र अदुवाको उत्पादनमा उल्लेख्य वृद्धि गर्ने अभियान थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्रै एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य तय गरेको छ ।
अघिल्लो वर्ष नमुना परीक्षणका रूपमा सुरु गरिएको लसुन र प्याजखेती यस वर्ष व्यापक बनाइएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई प्रत्यक्ष अनुदान उपलब्ध गराउँदै पालिकाले व्यावसायिक खेतीतर्फ आकर्षित गरेको हो ।
हाल गाउँपालिकाका सातवटै वडामा करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ । स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी र खोलानजिकका उब्जाउ क्षेत्रमा व्यावसायिक रूपमा खेती विस्तार गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।
पालिकाले किसानलाई प्रोत्साहन गर्न लसुन खेतीका लागि प्रतिरोपनी १० हजार रुपैयाँ र प्याजका लागि प्रतिरोपनी ८ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससँगै अदुवाखेतीलाई पनि प्राथमिकतामा राख्दै पालिकाले किसानलाई अदुवाको बीउ अनुदानमा वितरण गरेको छ ।
हाल पालिकाभित्र करिब २५० रोपनी क्षेत्रफलमा अदुवाखेती भइरहेको छ । यस वर्ष मात्रै ८० हजार किलोभन्दा बढी अदुवा उत्पादन हुने अनुमान गरिएको छ । अदुवाको उत्पादन सन्तोषजनक रहेको जनाउँदै अध्यक्ष ओझाले एक किलो बीउ रोपिएको स्थानमा एक डोकोसम्म उत्पादन भएको किसानहरूले बताएका जानकारी दिनुभयो ।
व्यावसायिक कृषिमा स्थानीय युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष ओझाले गाउँपालिकाले स्वरोजगार सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । हाल एक सयभन्दा बढी युवा कृषिलाई पेशाका रूपमा अपनाउँदै आयआर्जनमा संलग्न भएको उहाँको भनाइ छ ।
कृषिमा अनुदान, प्रविधि र बजार व्यवस्थापनलाई जोड दिँदै रुपा गाउँपालिका ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने दिशामा अघि बढिरहेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।