काठमाडौं । नाइजेरियामा पछिल्ला दिनहरूमा भएका श्रृंखलाबद्ध सशस्त्र आक्रमणपछि संयुक्त राज्य अमेरिकाले त्यहाँ आफ्नो सैनिक टोली पठाएको छ । अमेरिकी–अफ्रिका कमान्डका प्रमुख जनरल ड्याग्विन आर. एम. एन्डरसनले अमेरिकी समाचार संस्था एपीसँग कुराकानी गर्दै अमेरिकी सेना नाइजेरियामा परिचालित भएको पुष्टि गरेका हुन् ।
जनरल एन्डरसनका अनुसार गत वर्ष इटालीको रोममा नाइजेरियाका राष्ट्रपति बोला टिनुबुसँग भएको भेटवार्तापछि दुई देशबीच सैन्य तथा सुरक्षा सहकार्य विस्तार गर्ने सहमति बनेको थियो । सोही सहमतिअनुसार सीमित क्षमतासहितको अमेरिकी टोली नाइजेरियाली सेनालाई सहयोग गर्न पठाइएको उनले बताए ।
“संवादपछि अमेरिका र नाइजेरियाबीचको सुरक्षा सहकार्य थप मजबुत बनेको छ । नाइजेरियाली सेनाको क्षमतावृद्धिका लागि निश्चित दायरामा अमेरिकी टोली त्यहाँ पुगेको छ,” जनरल एन्डरसनले भने ।
यद्यपि, अमेरिकी सैनिक टोली कहिले नाइजेरिया पुगेको हो भन्ने विषयमा औपचारिक मिति सार्वजनिक गरिएको छैन । गत डिसेम्बर २५ मा अमेरिकाले इस्लामिक स्टेटसँग आबद्ध एक सशस्त्र समूहलाई लक्षित गर्दै हवाई आक्रमण गरेपछि दुई देशबीचको सैन्य सहकार्य अझ सक्रिय बनेको विश्लेषकहरू बताउँछन् ।
अमेरिकाले यसअघि पनि नाइजेरियालाई सैन्य उपकरण, गुप्तचर जानकारी, निगरानी मिसन तथा तालिममा सहयोग गर्दै आएको थियो । तर पछिल्लो पटक सुरु गरिएको यो नयाँ सैन्य सहयोगको स्वरूप, अवधि र दायरा भने अझै स्पष्ट पारिएको छैन ।
यसबीच नाइजेरिया अमेरिकाको राजनीतिक र कूटनीतिक दबाबमा पनि परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाले इसाई समुदायको सुरक्षा गर्न नसकेको आरोप लगाएपछि अमेरिकाले नाइजेरियालाई ‘विशेष चासोको देश’ (Country of Particular Concern) को सूचीमा राखेको थियो । यो सूची धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशहरूका लागि बनाइएको हो ।
नाइजेरियाली सरकारले भने ‘इसाई नरसंहार’को आरोप अस्वीकार गर्दै आतंकवादी समूहहरूले धर्म नहेरी सर्वसाधारणलाई निशाना बनाउँदै आएको दाबी गरेको छ । सरकारका अनुसार हिंसाका घटनाहरू धार्मिकभन्दा बढी सुरक्षा चुनौतीसँग जोडिएका छन् ।
नाइजेरिया लामो समयदेखि बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (ISWAP) जस्ता सशस्त्र समूहसँग संघर्षरत छ । गत महिना मात्रै उत्तर–पश्चिमी कडुना राज्यमा एक सशस्त्र समूहले एकैसाथ तीन वटा चर्चमा आक्रमण गरी १६८ जनाको अपहरण गरेको थियो ।
देशभर बढ्दो असुरक्षा र हिंसात्मक घटनाको पृष्ठभूमिमा अमेरिकी सैन्य उपस्थितिलाई नाइजेरियाको सुरक्षा व्यवस्थापनका लागि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।