अल्पमतमा सरकार, राजीनामाको तयारीमा मुख्यमन्त्री ||

0 Shares

 

वीरगन्ज । मधेस प्रदेशको सत्ता राजनीति फेरि संकटमा परेको छ। कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री कृष्णा यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। अन्य राजनीतिक दलबाट विश्वासको मत पाउने सुनिश्चितता नदेखिएपछि यादव विश्वासको मत लिनुभन्दा राजीनामा दिएर सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको बताइएको छ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले अबको एक साताभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। तर, विश्वासको मत लिने मिति अझै तय हुन सकेको छैन। सरकारलाई समर्थन गर्ने विषयमा अन्य दलले स्पष्ट प्रतिबद्धता नजनाउँदा मुख्यमन्त्री अप्ठ्यारोमा परेका हुन्।

कृषि मन्त्री श्याम पटेलका अनुसार मुख्यमन्त्री यादव अहिले पनि सरकारलाई निरन्तरता दिन अन्य दलसँग छलफलमा छन्। सहमति जुटे विश्वासको मत लिने र सहमति हुन नसके त्यसपछि मात्रै अर्को विकल्पबारे निर्णय गरिने उनको भनाइ छ।तर, सरकारका एक मन्त्रीका अनुसार अन्य दलबाट समर्थनको सुनिश्चितता नआए मुख्यमन्त्रीले विश्वासको मत नै नलिई राजीनामा दिने आन्तरिक तयारी गरेका छन्। स्रोतका अनुसार यादवले यही कात्तिक २८ गतेसम्म राजीनामा दिन सक्ने सम्भावना छ।

नेकपा एमाले र नेकपा सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको हो। एमालेले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै गत ३० गते सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो। त्यसपछि सरकारसँग विश्वासको मत प्राप्त गर्ने पर्याप्त आधार देखिएको छैन।मुख्यमन्त्री यादवले कात्तिक ३० गतेभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ। तर, राजनीतिक सहमति जुट्ने सम्भावना कमजोर देखिएपछि उनले राजीनामाको विकल्प रोज्न खोजेको मुख्यमन्त्री कार्यालय स्रोतको दाबी छ।

यादवले विश्वासको मत लिनुअघि नै राजीनामा दिए संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। तर, विश्वासको मत लिएर असफल भएमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्था छ।यही संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभन्दा राजीनामा दिन खोजेको स्रोतको दाबी छ।

अब मधेस प्रदेशको सत्ता राजनीति कुन दिशामा अघि बढ्छ भन्ने चासो बढेको छ। मुख्यमन्त्री यादवले अन्तिम समयमा अन्य दलको समर्थन जुटाएर सरकार जोगाउँछन् वा राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्छन् भन्ने विषय भने आगामी केही दिनमा स्पष्ट हुनेछ।

 

सम्बन्धित समाचारसबै