काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको परिस्थितिमा राजीनामा दिनेभन्दा पनि जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गगनकुमार थापाले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो पार्टीको अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयअनुकूल कदम हुने बताएका हुन्।
भण्डारीले लेखेका छन्, “अधिवेशनका लागि बनेको काँग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयअनुकूल बाटो हो।”
उनका अनुसार अहिलेको अवस्थामा पार्टीलाई जोगाउनु नै सबैभन्दा ठूलो नैतिक दायित्व भएको छ। युवापुस्ताले पार्टीप्रति आकर्षण गुमाउँदै गएको उल्लेख गर्दै उनले यस्तो बेला पार्टीलाई छाडेर हिँड्नु समाधान नभई पार्टीलाई सुधार गर्ने प्रयास गर्नुपर्ने बताएका छन्।
भण्डारीले काँग्रेसभित्र नयाँ सोच, नयाँ नेतृत्व र नयाँ ऊर्जा आवश्यक रहेको पनि उल्लेख गरेका छन्। “नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ,” उनले भनेका छन्।
समस्या देखेर भाग्नु होइन, त्यसको उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य भएको उनको भनाइ छ। उनले इच्छाशक्ति र साहस भए अझै पनि नेपाली काँग्रेसलाई बचाउने सम्भावना रहेको बताएका छन्।