काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअघि हर्कराज साम्पाङ राई बहुमत ल्याएर प्रधानमन्त्री बन्ने दाबी दोहोर्याइरहेका थिए। श्रम संस्कृति पार्टीले देशभर व्यापक समर्थन पाउने उनको भनाइ थियो।
तर निर्वाचन परिणाम सार्वजनिक हुँदै जाँदा देशभर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा लहर देखिएको छ। परिणामले श्रम संस्कृति पार्टीलाई भने कोशी प्रदेशबाहेक अन्य प्रदेशका मतदाताले अपेक्षाकृत कम समर्थन दिएको देखाएको छ। यद्यपि, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी तथा मधेशकेन्द्रित अन्य दलहरू राष्ट्रिय पार्टी बन्न असफल भएका बेला साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी भने राष्ट्रिय पार्टी बन्ने अवस्थामा पुगेको देखिएको छ।
श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ३ सिट जितेको छ। समानुपातिकतर्फ मंगलबार बिहानसम्मको गणनाअनुसार पार्टीले ३.३७ प्रतिशत मत प्राप्त गरेको छ। नेपालको निर्वाचन प्रणालीअनुसार समानुपातिकतर्फ ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलले राष्ट्रिय पार्टीको मान्यता पाउने व्यवस्था रहेको छ।
पार्टीका उपाध्यक्ष लोकनाथ चुडाल ले छोटो समयमै प्राप्त गरेको जनविश्वासलाई सकारात्मक रूपमा लिएको बताएका छन्।
उनले भने, “स्थापनाको चार महिनामै पार्टीले अहिले पाएको विश्वास नराम्रो होइन। हामी सबैले गर्व गर्ने गरी काम गर्नेछौं। अर्को निर्वाचनमा अझ राम्रो परिणाम ल्याउने लक्ष्यसहित अघि बढ्नेछौं।”
यसअघि सामाजिक अभियन्ताका रूपमा परिचित साम्पाङ स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिका को मेयर निर्वाचित भएका थिए। धरानको खानेपानी समस्या समाधानका लागि उनले गरेको पहलका कारण उनी व्यापक रूपमा चर्चित र प्रशंसित भएका छन्।
धरानमा विकासका काम गरेर जनताको विश्वास जितेका साम्पाङले यसपटकको निर्वाचनपछि संसद्मा सशक्त प्रतिपक्षीको भूमिका खेल्ने संकेत दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “जनताले चुनिहालेपछि सबैले स्वीकार्नै पर्छ। तर सरकारको नेतृत्व रवि (लामिछाने) ले गर्दा राम्रो हुन्छ। सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ। नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन।”