गृह मन्त्रालयद्वारा ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना, सुरक्षा निगरानी र जनसुविधा प्रभावकारी बनाइने

0 Shares

काठमाडौं । शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले देशभरका सुरक्षा निकायहरूसँग सिधा सम्पर्क कायम गर्ने गरी यस्तो प्रणाली ल्याउने निर्णय गरेको हो।

सेन्ट्रल कमान्ड सिस्टममार्फत देशभरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीका कार्यालयसँग प्रत्यक्ष सम्पर्क हुनेछ। यसबाट सूचना आदानप्रदान तीव्र हुने र महत्त्वपूर्ण स्थानहरूको प्रत्यक्ष अनुगमन गर्न सहयोग पुग्ने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। गृहमन्त्री सुधन गुरुङले यस प्रणालीको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

त्यस्तै, गृह मन्त्रालयले सर्वसाधारणले दिएका उजुरी तथा दर्ता भएका जाहेरीहरूको प्रगति विवरण अब सम्बन्धित व्यक्तिलाई फोन, एसएमएस र इमेलमार्फत उपलब्ध गराउने भएको छ। नेपाल प्रहरीले यस सम्बन्धमा मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइसकेको छ। गृहमन्त्री गुरुङले उक्त व्यवस्थाको साप्ताहिक प्रतिवेदन मन्त्रालयमा पेस गर्न र अन्य निकायहरूमा समेत क्रमशः लागू गर्न भनेका छन्।

बैठकले गृह मन्त्रालय र मातहतका निकायहरूको कार्यसम्पादनमा जनताको गुनासो सुन्ने प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। यसका लागि सबै कार्यालयमा गुनासो व्यवस्थापन संयन्त्र सक्रिय गरिनेछ भने मन्त्रालयमा कल सेन्टर स्थापना गरी जनगुनासो सम्बोधन गरिनेछ।

सम्बन्धित समाचारसबै