चार देशमा पुनः श्रम स्वीकृति खुला, इजरायलसहित मध्यपूर्वका मुलुकमा जान पाइने

0 Shares

काठमाडौँ। सरकारले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको पुनः श्रम स्वीकृति चार देशका लागि पुनः खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३१ गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिने व्यवस्था पुनः लागू गरिएको हो।

मन्त्रालयको निर्णयपछि वैदेशिक रोजगार विभागले ती देशमा पुनः श्रम स्वीकृति खुला गरिएको जानकारी दिएको छ। यससँगै ती मुलुकमा कार्यरत नेपाली श्रमिकहरूले पुनः श्रम स्वीकृति लिएर फर्किन सक्नेछन्।

तर इराकका हकमा भने यसअघि २०८२ पुस ११ गते गरिएको निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिने विभागले स्पष्ट पारेको छ।

यसअघि मध्यपूर्व क्षेत्रमा उत्पन्न तनावका कारण सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति स्थगित गरेको थियो। विशेषगरी इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूलाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्न थालेपछि त्यहाँ रहेका नेपाली श्रमिकहरूको सुरक्षामा चुनौती बढेको आकलन गरिएको थियो।

सोही कारण देखाउँदै सरकारले सावधानी अपनाउँदै ती देशहरूमा श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको थियो। अहिले भने परिस्थितिमा केही सुधार आएको ठहर गर्दै पुनः श्रम स्वीकृति खुला गरिएको हो।

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार निर्णयहरू परिमार्जन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचारसबै