काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनापछि त्रिविले छानबिन प्रक्रिया अघि बढाएको छ।साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘एमबिएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा साझा गरिएको दाबी गरिएको छ। यस विषयलाई लिएर फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले स्क्रिनसटसहित सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएको थियो।
सार्वजनिक स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ। त्यसपछि समूहका सदस्य केशव भट्टले समाधान पनि पठाइदिन आग्रह गरेका छन् भने केही समयपछि अर्को पीडीएफ फाइल पनि साझा गरिएको देखिन्छ। यद्यपि उक्त फाइलमा के सामग्री थियो भन्ने खुलेको छैन।त्यसैगरी, सोही समूहका सदस्य सुजन पौडेलले आगामी इकोनोमिक्स विषयको परीक्षामा पनि प्रश्नपत्र यसैगरी पठाइदिन आग्रह गरेको सन्देशसमेत सार्वजनिक भएको छ। उक्त ह्वाट्सएप समूहमा एक हजार २३ जना सदस्य रहेको बताइएको छ।
घटनापछि त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई आधिकारिक पत्राचार गर्दै घटनाको अनुसन्धान गर्न अनुरोध गरेको छ। सहायक डीन डा. भरत राईद्वारा पठाइएको पत्रमा प्रश्नपत्र सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाहीका लागि सहयोग मागिएको छ।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको त्रिविले जनाएको छ।