काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासमा साझेदार बन्न नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल अन्तरक्रियामा उनले सरकार र आफ्नो दलको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने धारणा दोहोर्याउँदै नेपालप्रति विश्वास कायम राख्न आह्वान गरे।
अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकासका महत्वपूर्ण साझेदार तथा सद्भावनादूतको संज्ञा दिँदै उनीहरूको साथ, सहयोग र लगानी देशको समृद्धिका लागि आवश्यक रहेको बताए।
उनले सरकारले अर्थतन्त्रको पुनरुत्थानलाई प्राथमिकता दिँदै बजेटमार्फत कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू लागू गरेको उल्लेख गर्दै प्रवासी नेपालीलाई निर्धक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे।
नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा विदेश लैजान सकिने स्पष्ट पार्दै उनले सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता अवधारणामार्फत प्रवासी नेपालीको लगानी विस्तार गर्ने पहल अघि बढाइरहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सरकार लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रवासी नेपालीलाई नेपालको आर्थिक रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।