हुण्डी अनुसन्धानको घेरा फराकिलो, दुई पक्राउपछि अब खोजिँदैछ सञ्जाल

0 Shares

विराटनगर । सुनसरी प्रहरीले हुण्डी कारोबारको आशंकामा दुई जनालाई पक्राउ गरेसँगै अनुसन्धान अब उनीहरूसम्म मात्र सीमित नरहने संकेत गरेको छ।

बैंक खाताको अस्वाभाविक कारोबारमाथि निगरानी गर्ने क्रममा प्रहरीले विराटनगर–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई पक्राउ गरेको हो।

प्रहरीको अनुसन्धान अहिले प्रयोग भएका बैंक खाता, रकमको स्रोत र गन्तव्य, कारोबारमा जोडिएका व्यक्ति तथा सम्भावित हुण्डी सञ्जाल पत्ता लगाउनेतर्फ केन्द्रित छ।

प्रहरीका अनुसार हालसम्मको विश्लेषणमा व्यक्तिगत तथा विभिन्न फर्मका खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकमको शंकास्पद कारोबार देखिएको छ।

अब अनुसन्धानको मुख्य प्रश्न रकम कति हो भन्नेभन्दा पनि त्यो रकम कहाँबाट आयो, कहाँ पुग्यो र कारोबारमा अरू को–को जोडिएका छन्? भन्ने बनेको छ।

पक्राउ परेका दुवै जनामाथि हुण्डी कारोबार, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रहरीले उनीहरूसँग सम्बन्धित कारोबार र सम्पर्कको थप विश्लेषण गरिरहेको जनाएको छ।

सम्बन्धित समाचारसबै