विराटनगर ।आज देशभर विश्वकर्मा पूजा मनाइँदैछ। उद्योग, कलकारखाना, वर्कसप तथा प्राविधिक प्रतिष्ठानमा पनि बिहानैदेखि विशेष चहलपहल देखिएको छ।
विश्वकर्मा पूजाका अवसरमा उद्योग तथा वर्कसपमा प्रयोग हुने मेसिन, औजार, सवारीसाधन र विभिन्न प्राविधिक उपकरणको सरसफाइ गरी पूजाआजा गरिएको छ। मेसिन तथा औजारको पूजा गर्दै काममा सफलता, सुरक्षा र प्रगतिको कामना गर्ने परम्परा छ।
हिन्दू धार्मिक मान्यताअनुसार विश्वकर्मालाई देवताका शिल्पी तथा वास्तुकारका रूपमा पुजिन्छ। निर्माण, वास्तुकला तथा प्राविधिक काममा विश्वकर्माको योगदान रहेको धार्मिक विश्वास छ।
विशेषगरी उद्योग, निर्माण तथा प्राविधिक क्षेत्रमा संलग्न व्यक्ति र प्रतिष्ठानले विश्वकर्मा पूजालाई महत्वपूर्ण पर्वका रूपमा मनाउने गरेका छन्। विराटनगरका विभिन्न उद्योग तथा वर्कसपमा पनि पूजाआजासँगै विश्वकर्मा पूजाको रौनक देखिएको छ।