काठमाडौं । गणेशमान सिंहको २९औँ स्मृति दिवस आज मनाइँदैछ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
लोकतन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर, सिंहले उक्त प्रस्ताव अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए।
राणाशासनविरुद्धको आन्दोलनदेखि पञ्चायतविरोधी संघर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्म सिंहले लामो राजनीतिक संघर्ष गरेका थिए।
२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले सिंहदरबार र सुन्दरीजलमा गरी आठ वर्ष काराबास बिताएका थिए। २०३३ सालमा बीपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि उनी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहे।
गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो। उनको स्मृति दिवसमा लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदान र राजनीतिक संघर्षलाई स्मरण गरिँदैछ।