उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न

0 Shares

विराटनगर । रातभर दीप र बत्तीले झिलिमिली बनेका छठघाटहरूमा सोमबार बिहान उदाउँदो सूर्यको पहिलो किरणसँगै श्रद्धा, आस्था र भक्तिको अनुपम दृश्य देखियो। नदी, पोखरी तथा जलाशयका किनारमा उभिएका व्रतालुहरूले सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म विधिपूर्वक मनाइएको यस वर्षको छठ पर्व सम्पन्न भएको छ।

बिहान झिसमिसेमै पूजाका सामग्री बोकेर छठघाट पुगेका व्रतालुहरू सूर्य उदाउने प्रतीक्षामा थिए। बाँसका ढाकी र सुपलीमा ठेकुवा, भुसुवा, केरा, नरिवल, उखु तथा विभिन्न फलफूल सजाएर उनीहरूले जलाशयमा उभिई उदाउँदो सूर्यलाई अर्घ्य दिए। त्यसक्रममा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तानको दीर्घायुको कामना गरिएको थियो।

छठको अन्तिम दिन गरिने यो विधिलाई ‘उषा अर्घ्य’ भनिन्छ। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको मुख्य अनुष्ठान पूरा गरेका हुन्।

सूर्यको उपासनाका लागि रातिदेखि नै छठघाटमा श्रद्धालुको चहलपहल थियो। घाटहरूलाई आकर्षक बत्ती, फूल र पूजासामग्रीले सजाइएको थियो। बिहान सूर्यको दर्शनसँगै घाटमा उपस्थित व्रतालु तथा श्रद्धालुहरूले सामूहिक रूपमा पूजा र आराधना गरेका थिए।

उषा अर्घ्यपछि व्रतालुहरूले पूजामा चढाइएका प्रसाद ग्रहण गर्दै लामो समयदेखिको निर्जला उपवास तोडे। धार्मिक विधिअनुसार यसलाई ‘पारण’ भनिन्छ। त्यसपछि परिवार, आफन्त र छरछिमेकीलाई प्रसाद बाँडेर छठको प्रसन्नता साटासाट गर्ने परम्परा छ।

सम्बन्धित समाचारसबै