सर्लाही । छठ पर्वको पूजाआजा गर्न घाट पुगेका मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव स्थानीयको विरोधपछि पूजा नगरी फर्किन बाध्य भएका छन्। विकास निर्माण र छठघाट व्यवस्थापनका लागि गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै आक्रोशित स्थानीय युवाहरूले मेयर यादवविरुद्ध नाराबाजी गर्दै उनलाई घाटबाट बाहिरिन बाध्य पारेका हुन्।
घटना मलंगवा नगरपालिका–७ स्थित मुसैली पोखरीको हो। छठ पर्वको अवसरमा सोमबार साँझ करिब पौने ६ बजे सपरिवार पूजाआजाका लागि घाट पुगेका मेयर यादवलाई स्थानीय युवाहरूले घेरेर विरोध जनाएका थिए।
स्थानीय बासिन्दाका अनुसार दसैँलगत्तै पोखरी सरसफाइ गर्ने, छठ पर्वका लागि बत्ती जडान गर्ने तथा आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता मेयरले जनाएका थिए। तर पर्व नजिकिँदासमेत ती काम नभएपछि स्थानीय आफैँले पोखरी सफा गर्नुपरेको थियो।
आफैँले सफा गरेको घाटमा पूजा गर्न मेयर पुगेपछि युवाहरूले असन्तुष्टि व्यक्त गर्दै नाराबाजी गरेका थिए। विरोध चर्किएपछि मेयर यादव पूजाआजा नै नगरी त्यहाँबाट फर्किएका हुन्।
सर्लाही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुजित यादवसहित दर्जनौँ स्थानीय युवा विरोधमा सहभागी थिए। सभापति यादवले पोखरी सफाइदेखि छठघाट व्यवस्थापनसम्मका काम स्थानीयले आफ्नै पहलमा गरेको दाबी गरेका छन्।
उनका अनुसार प्रहरीको गस्ती भइरहेकै समयमा विरोध प्रदर्शन भएको थियो। विरोधका क्रममा वडा नम्बर ७ का अध्यक्षका छोराहरूसमेत मेयरसँगै त्यहाँबाट बाहिरिएका थिए।
स्थानीयले मेयरसहित जनप्रतिनिधिहरूमाथि पोखरी संरक्षण र विकास निर्माणमा बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिबद्धता पूरा नगर्ने जनप्रतिनिधिलाई आगामी दिनमा पनि घाटमा प्रवेश गर्न नदिने चेतावनी उनीहरूले दिएका छन्।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर यादवमाथि आफ्नै नगरका बासिन्दाको यस्तो आक्रोश सार्वजनिक भएपछि स्थानीय तहको जवाफदेहिता र जनप्रतिनिधिले गरेका प्रतिबद्धता कार्यान्वयनको विषय फेरि चर्चामा आएको छ।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने घटनाबारे आफूहरूलाई हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।