थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के-BHITRAKOKHABAR

0 Shares

इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन्।

इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लगभग सबै बासिन्दाहरूलाई विस्थापित गरेको छ । गाजामा चलेको १५ महिनाभन्दा बढीको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले एक सम्झौता अन्तर्गत थप बन्धक–कैदी अदला–बदलीको लागि मार्ग प्रशस्त भएको छ ।

हमासले नागरिक महिला बन्धकहरूलाई रिहा गर्न असफल भएको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूको ठूलो भीडलाई उनीहरूको घर फर्कनबाट रोक्दै आएको थियो ।

हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी गृह मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार प्यालेस्टिनीहरूको भीड सोमबार बिहानैदेखि उत्तरतर्फ जान थालेको छ ।

“विस्थापित प्यालेस्टिनीहरूको बाटो खुल्न थालेको छ“, ती अधिकारीले भने। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार तीन जना र शनिबार अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको जनाएको छ । हमासले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त सहमतिको पुष्टि गरेको छ ।

यसैबीच प्यालेस्टिनी नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली’ गर्ने योजनाको निन्दा गर्दै युद्धग्रस्त क्षेत्रका बासिन्दालाई जबर्जस्ती विस्थापित गर्ने कुनै पनि प्रयासको प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा ‘विध्वंसस्थल’ बनेको बताउँदै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग प्यालेस्टिनीलाई बाहिर निकाल्ने विषयमा कुरा भएको बताएका थिए ।

गाजा युद्धविरामको पहिलो चरणमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनीहरूको बदलामा ३३ जना बन्धकहरूलाई छ हप्तामा चरणबद्ध रूपमा रिहा गरिने सहमति भएको छ र सम्झौताका बुँदा अनुसार अन्यथा नभएमा यो आदानप्रदान सुनिश्चित गरिएको छ ।

पछिल्लो पटक भएको अदलाबदलीमा चार जना इजरायली महिला बन्धक, सबै सैनिक र २०० जना कैदी, लगभग सबै प्यालेस्टिनीलाई शनिबार रिहा गरिएको थियो ।

सम्बन्धित समाचारसबै