भारत–पाकिस्तानबीचको बढ्दो तनावका बीच भारतको बिहारस्थित मोतीहारी जिल्लामा चार जना चिनियाँ नागरिक शंकास्पद अवस्थामा पक्राउ परेका छन्।
अवैध रूपमा नेपालबाट भारत प्रवेश गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र मोतिहारी प्रहरीको संयुक्त टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्तका डेन विजोन, लिं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेका छन्। मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार, उनीहरू मितेरी पुल हुँदै हरैया थाना क्षेत्रबाट भारत छिर्न खोज्दै थिए।
पक्राउ परेकामध्ये एक महिला रहेका छिन्, जसले आफूलाई नेपालकी नागरिक भएको दाबी गर्दै आएकी छन्। प्रहरीले भने उक्त महिलाको बयान बारम्बार परिवर्तन भइरहेको जनाएको छ। उनी नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा बोल्ने क्षमतामा रहेकी छन्। महिलासँग केही पाकिस्तानी नम्बर फेला परेपछि उनको सम्भावित पाकिस्तान सम्बन्धबारे भारतीय सुरक्षा एजेन्सीहरूले विशेष ध्यानसाथ अनुसन्धान गरिरहेका छन्।