भोकले खोजेको गाजाका बालबालिकाको मानव संवेदना

0 Shares

काठमाडौँ। प्यालेस्टिनी लडाकु समूह हमास र इजरायल सरकारबीचको युद्धमा १७ हजार बालबालिकाको मृत्यु भइसकेको छ ।

यतिञ्जेल बाँचेकामध्ये पनि हजारौं बालबालिकाको हातसँगै खेलौना खसेको छ । खुट्टासँगै जुत्ता–चप्पल उछिट्टिएको छ । बुवाआमा मारिएका छन् वा बिछोडिएका छन् र सबैभन्दा आत्मीय साथ छुटेको छ ।उनीहरूको अनुहार इजरायलले प्रहार गरेको घातक हतियारले भत्काएका भवनबाट उडेको कंक्रिटको धूलोले छोपिएको छ, बारुदको धूवाँले सास फेर्न कठिन भएको छ ।

तिनका रगतपच्छे अनुहारले जोकसैलाई विचलित बनाउँछ । युद्धको क्रूर अवस्था यसरी विस्तारित भइरहेको छ कि, यतिबेला गाजाका ७१ हजार बालबालिका एक गास खानाका निम्ति मानव इतिहासकै एक कठोर संघर्ष सामना गरिरहेका छन् । भोकले गाँजेका बालबालिकाले अन्योलपूर्ण भावभंगीमा रित्ता भाँडा थापिरहेको फोटो/भिडियो गाजाबाट संसारसमक्ष पुगिरहेको छ ।

त्यसैले थोरै मात्रै संवेदना बाँकी रहेका जोसुकै र जहाँसुकैका मानिसले गाजाका बालबालिकाले भोग्नुपरेको दुर्दिनलाई महसुस गर्न सक्नुपर्छ । युद्धका नाममा बालबालिकालाई प्रताडित गर्ने शासक र समूहका विरुद्धमा आवाज उठाउनुपर्छ । मुख्यतः त्यहाँका बालबालिकालाई भोकमरीबाट जोगाउन तत्कालै आवश्यक प्रयत्न गर्न दबाब सिर्जना गर्नुपर्छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिण इजरायलमा गरेको आक्रमणमा १४ सय मानिस मारिएका थिए, जसमा इजरायलसहित ३८ देशका नागरिक थिए । त्यतिबेला ३७ बालबालिकाको मृत्यु भएको थियो । प्रतिकारस्वरूप इजरायलले सुरु गरेको आक्रमणले भने २० महिनायता मानव सभ्यतालाई चुनौती दिइरहेको छ ।

सम्बन्धित समाचारसबै