काठमाडौँ- विसं २०५८ साल जेठ २० गते। काठमाण्डूमा अघिल्लो राति भएको दरबार हत्याकाण्डमा राजारानीसहित थुप्रैले ज्यान गुमाइसकेका थिए।
त्यसको भोलिपल्ट जुम्लाका काले तिरुवाले बल्ल त्यो भयावह घटनाबारे सुने।
उनी चिउरी नुवागाउँमा हिमा नदी तर्न बनाइएको काठे साँघुमा त्यस बेलाका राजारानी वीरेन्द्र र ऐश्वर्यका काठका मूर्तिहरू कुँदेर घर फर्किँदै थिए।
त्यो अप्रिय खबर सुन्दा उनी छाँगाबाट खसेझैँ भए।”साह्रै दु:ख लाग्यो। अघिल्लो राति नै घटना भएको रहेछ, भोलिपल्ट साँझ ५ बजेतिर मात्र थाहा भयो,” उनले भने।
“बाँचेका भए मैले बनाएका आफ्ना मूर्तिहरू हेर्न आउँथे कि?”
तत्कालीन गाउँ विकास समितिले ६० हजार रुपैयाँमा बनाएको साँघुका दुवैतिरका खम्बाहरूमा उनले राजा रानी र उनीहरूका अङ्गरक्षकका मूर्तिहरू बनाएका थिए।
“कसैले भनेर राजारानीका मूर्ति बनाएको थिइनँ,” ७१ वर्षीय तिरुवाले भने।
“मनमा के सोचाइ आयो कुन्नि? देशका नायक राजा नै हुन्। आउने पुस्ताले पनि राजाको राज्य थियो कुनै बेला भन्ने कुरा थाहा पाऊन् भन्ने सोचेर साँघुमा मूर्ति बनाएँको थिएँ।”