निष्ठाको राजनीतिक यात्रासहित सभापतिमा बिष्टको दाबेदारी

0 Shares

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै मोरङमा जिल्ला सभापतिका आकांक्षीहरू आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्। यसैक्रममा कांग्रेस नेता यदु बिष्टले मोरङ जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै पार्टीको नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय बिष्टले पार्टीको जिल्ला नेतृत्व सम्हाल्ने आकांक्षासहित आफ्नो राजनीतिक पृष्ठभूमि र संगठनात्मक अनुभवलाई अघि सारेका छन्। उनले निष्ठा, न्याय, पारदर्शिता र सुशासनलाई आफ्नो नेतृत्वको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्। ‘समृद्ध मोरङका लागि जिम्मेवार नेतृत्व’ भन्ने नारासहित पार्टी संगठनलाई थप सुदृढ बनाउने र जिल्लाको राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने दाबेदारी समेत प्रस्तुत गरेका छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बिष्टले चार दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको उल्लेख गरेका छन्। उनको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनी २०४९ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका थिए। त्यसपछि २०५२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले।

विद्यार्थी संगठन हुँदै युवा संगठन र पार्टीको मूल संगठनसम्मको यात्रामा अघि बढेका बिष्टले २०६२ सालमा नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यको जिम्मेवारी पाएका थिए। त्यसको केही वर्षपछि २०६८ सालमा जिल्ला सचिव बनेर काम गरे। पार्टीको जिल्ला संगठनमा सचिवको जिम्मेवारी सम्हालिसकेका उनी पछिल्लो समय नेपाली कांग्रेस कोशी प्रदेशको प्रवक्ताको भूमिकामा छन्। २०८१ सालमा प्रदेश प्रवक्ताको जिम्मेवारी पाएका बिष्ट मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट महासमिति सदस्यसमेत रहेका छन्।

पार्टीको तल्लो तहदेखि जिल्ला, प्रदेश र केन्द्रीय तहसँग जोडिएका विभिन्न संगठनात्मक जिम्मेवारी सम्हालेको अनुभवलाई उनले जिल्ला सभापतिको दाबेदारीको आधार बनाएका छन्। मोरङ कांग्रेसको नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धामा उनको उम्मेदवारीलाई संगठनात्मक अनुभव र पुरानो राजनीतिक पृष्ठभूमिका आधारमा प्रस्तुत गरिएको छ। विद्यार्थी संगठन, तरुण दल र पार्टीको जिल्ला कार्यसमितिमा काम गरिसकेका बिष्टले अब जिल्ला नेतृत्वको जिम्मेवारी लिने चाहना अघि सारेका हुन्।

उनले आफ्नो प्रचार सामग्रीमार्फत पार्टीभित्र निष्ठा, न्याय र पारदर्शितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। साथै सुशासन र जिम्मेवार नेतृत्वमार्फत मोरङ कांग्रेसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सन्देश दिएका छन्।

जिल्ला सभापतिको दाबेदारीसँगै बिष्टले आफ्नो राजनीतिक अनुभवलाई पार्टी संगठनको हितमा उपयोग गर्ने अवसर खोजेका छन्। अब उनको दाबेदारीले मोरङ कांग्रेसको आसन्न जिल्ला अधिवेशनको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

सम्बन्धित समाचारसबै