२ असार । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक र सन्तुलित रहेको बताएका छन् ।
कोशी प्रदेश सरकारले आइतबार प्रदेशसभामा पेस गरेको बजेटबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा ऊर्जा, सवारी अनुमतिपत्र, विपद् व्यवस्थापनलगायत क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम ल्याइएको बताए ।
उनले २०८२ पर्यटन वर्षका रूपमा रहेको र हालसालै भएको लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साहलाई मध्यनजर गरी उद्योग स्थापना, रुग्ण उद्योगलाई पुनर्जीवन र पर्यटन प्रवर्द्धनलाई सहयोग पुग्नेगरी प्रदेशले सङ्कलन गर्ने राजस्वमा विभिन्न खाले छुटको व्यवस्था गरिएको जानकारी दिए ।
मन्त्री मगरले आगामी वर्षमा प्रदेश सरकारले प्रस्ताव गरेको सुधारबाट आन्तरिक राजस्व वृद्धि भई पाँच अर्ब ५० करोड पुग्ने अनुमान रहेको बताए । बजेटले प्रस्ताव गरेको कार्यक्रम तथा सुधारबाट प्रदेशको विकासमा सहयोग पुग्ने विश्वास लिइएको बताए ।