विराटनगर । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न कोशी प्रदेशले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। प्रदेशका १४ वटै जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचन अवधिभर सुरक्षा व्यवस्थामा नेपाल प्रहरीलाई सहयोग गर्न कुल २३ हजार ४ सय ९ जना म्यादी प्रहरी आवश्यक पर्नेछ। इच्छुक नेपाली नागरिकहरूले शुक्रबारदेखि आ–आफ्नो जिल्लाको प्रहरी कार्यालयमा पुगेर आवेदन दिन थालेका छन्।
जिल्लागत रूपमा हेर्दा मोरङमा सबैभन्दा बढी ४ हजार ३ सय ८३ जना र तेह्रथुममा सबैभन्दा कम ५ सय ५० जना म्यादी प्रहरीको कोटा तोकिएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले आवश्यक जनशक्ति समयमै व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढाइएको हो।
म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्ने प्रवक्ता पोखरेलले जानकारी दिए।
निर्वाचन सुरक्षामा नागरिक सहभागिता बढाउँदै जनशक्ति परिचालन गर्ने उद्देश्यले सुरु गरिएको यो प्रक्रिया कोशी प्रदेशमा निर्वाचन तयारीको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।