विदेशको ऋण र स्वदेशको खेती : बाँकेको खेतबाट उठेको आत्मनिर्भरताको कथा

0 Shares

बाँके । जब हजारौँ युवा ऋण बोकेर विदेशिँदै छन्, त्यही बेला बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउले आफ्नै खेतबाट ऋण तिरेर उदाहरण प्रस्तुत गरेका छन् । उनका अनुसार विदेश रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको फरक आँकडाले होइन, अनुभवले देखाउँछ ।

दुई छोराले सात–सात लाख रुपैयाँ ऋण लिएर विदेश गएको अवस्थामा वीरेन्द्रले पनि उति नै रकम ऋण लिए । फरक यति मात्र थियो—छोराले विदेश रोजे, बाबुले खेत । परिणाम पनि फरक देखियो ।
दुई महिनामै टमाटर बिक्री गरेर ऋण चुक्ता भयो, तर छोराहरु अझै ऋण तिर्ने प्रक्रियामै छन् ।

तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले परम्परागत खेतीलाई आधुनिक प्रणालीमा रूपान्तरण गरेपछि आम्दानीको आधार बलियो बनाएको छ । यस वर्ष वीरेन्द्रले चार बिघा जमिनमा व्यावसायिक टमाटरखेती गरेका छन् । बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादी गरी करिब सात लाख रुपैयाँ लगानी गरिएको छ ।

मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न थालेका उनले हालसम्म करिब एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् । अझै हजार क्विन्टलभन्दा बढी टमाटर उत्पादन बाँकी रहेको र सबै बिक्री भए यस वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुने उनको अनुमान छ ।

यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपैयाँसम्म पुगेपछि किसानलाई राहत पुगेको छ । उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ, जसले मेहनतको उचित मूल्य पाउन मद्दत गरेको वीरेन्द्र बताउँछन् ।

उनका अनुसार टमाटरखेती नयाँ पेशा होइन । ०३६ सालदेखि उनका बुबाले परम्परागत तरिकाले टमाटरखेती गर्दै परिवार चलाएका थिए । तर समयअनुसार प्रविधि नअपनाए सम्भावना सीमित हुने भन्दै वीरेन्द्रले खेती सम्हालेपछि आधुनिक प्रणाली अपनाएका हुन् । पछिल्ला तीन वर्षमा उत्पादन बढ्नुका साथै लागत घटेको र आम्दानी उल्लेख्य रुपमा बढेको उनी बताउँछन् ।

गत वर्ष पनि उनले पाँच लाख १० हजार रुपैयाँ ऋण लिएर खेती गरेका थिए, जुन दुई महिनामै तिरे । टमाटरखेतीबाट भएको नाफाले उनले ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गरेका छन् । यसले बजार पहुँच सहज बनाउनुका साथै अतिरिक्त खर्च घटाएको छ ।

टमाटरखेतीले परिवारको आम्दानी मात्र होइन, गाउँमै रोजगारी सिर्जना गरेको छ । खेतीको मौसममा १० देखि २० जनासम्म मजदुरले दैनिक ज्यालामा काम पाउने गरेका छन् । सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको वीरेन्द्र बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सम्बन्धित निकायले खेतीको निरीक्षण गरेको र मल्चिङ सामग्री तथा रोटाभेटर जस्ता उपकरण उपलब्ध भए लागत अझै घट्ने उनको विश्वास छ । उनले अनुदानको सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने धारणा राख्छन् ।

छोराहरु विदेश गएको प्रसङ्गमा उनी भावुक हुँदै भन्छन्— नेपालमै केही गर्न सकिँदैन भन्ने सोच गलत हो । योजना, मेहनत र लगानी भए आफ्नै खेतबारीमा पनि भविष्य सुरक्षित गर्न सकिन्छ ।

आगामी वर्ष टमाटरखेतीको क्षेत्रफल चार बिघाबाट बढाएर १० बिघा पुर्‍याउने लक्ष्य राखेका वीरेन्द्रका अनुसार यसले दैनिक करिब २० जनालाई रोजगारी दिन सकिन्छ । सुरुमा ऋण दिन हिच्किचाउनेहरु अहिले आफैं प्रस्ताव लिएर आउने गरेको उनी सुनाउँछन् ।

तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारको कथा आज बाँकेको सीमामा सीमित छैन । यो कथा स्वदेशमै सम्भावना खोजिरहेका किसान र युवाका लागि आत्मनिर्भरताको जीवित उदाहरण बनेको छ ।रासस

सम्बन्धित समाचारसबै